Home

हिमगिरिः नेपाली कविताहरू

हिमगिरिः नेपाली कविताहरू

 

यौटा कविताहीन कविता

 

              -मनप्रसाद सुब्बा

 

अखबारको पृष्टमा ऐना हेरेर

शुरू हुन्छ उसको दिन...

धुनिक दन्त्यकथाको एक देवता ऊ

रिमोट-कन्ट्रोल हातमा लिएर

टी.भी. स्क्रीनको अँध्यारो शून्यमा

संसार बनाउँछ बद्लाउँछ, अल्पाउँछ

साबुन-पानीका फोकाहरू

सानो पाइपबाट उडाउऩे खेले झैं

शब्दहरू फुरूरूरू...

फुकिपठाउँछ ऊ दिनभरि।

उसको मुखबाजाको आरोह-अवरोहले

ट्राफिक जाम गरेर दिनैपिच्छे

हल्ला बजिरहन्छ चर्को

स्केलेटरको आरोह-अरोहसहित

उक्लिँदै

ओर्लिँदै

राइकेको आफैलाई कहिलेदेखिन्।

कुन्नि को भइसकेको ऊ कहिलेदेखिन्।

सुपर मार्केटको एक पसल

सङ्गीतको एक एक सप्तक बज्छ

उसको दाँतको की-बोर्डमा।

कहिले चाहिँ

खाली खोक्रो एलिभेटरमा चढेर

आधुनिक देवत्वको स्काइस्क्रेपर उक्लिन्छ

अनि दुइ-चार हात रमी

दुइ चार पेग रक्सी

र आइमाइको केही तातो नि-श्वास

आह मज्जा छ उसलाई

स्वचालित औंलाहरूले

ताछेर साँझको घामलाई सुन्तला जस्तो

केस्रा,केस्रा खाइबस्छ गफको रस निल्दै।

करेन्सी नोटमा छापिएको कुनै पनि चित्र हेरेर

भ्यानगगको प्रशंसा गर्छ ऊ

'All that glitters is not gold'

भनिवरि गर्वसाथ

औल्याउँछ उसको चम्किँदो दराजतर्फ

सजिल्द शेक्सपियर देखाउँदै

दिनको उज्यालोलाई सधैं ऊ

आफ्नो टल्किँदो हाँसोमा फिजाउँछ

अनि रातको अन्धकारलाई चाहिँ

ओभरकोट बनाएर ओढ्छ।

यस्तो उसलाई तिमीले

जहीं पनि जहिले पनि भेटेकै हुनुपर्छ

न्यूयोर्क बेजिङ काठमाण्डुमा

अनि कुकुर-लुतोले पिल्सिरहेको हाम्रो

दार्जीलिङ पनि।

 

आत्माभिव्यक्ति-एउटा सिपाहीको

-वीणाश्री खरेल, गान्तोक

मेरो आगमनको

एकएक पललाई

आफ्नै घर-आँगनमा

मिलनका सपनाहरू सजाएर बसेकी तिमी

खुशीका गुराँसहरू

मनभरि फुलाएर पर्खेकी तिमी,

मायाका उन्मादमा

बसन्ती भएर मात्तिएकी तिमी

मेरो नआउने खबर पाउँदा,

मरे तुल्य भयौ होला तिमी

प्रिय।

बन्दुकमा बाँधिएको मान्छे परें म,

समय त्यस्तै प-यो-

यस पटक आउन सकिनँ

मलाई क्षमा गर।

सुरक्षित किल्लाहरूमा बसेर

बिहानको रक्तिम सूर्य

तिम्रो सिउँदोभरि छरिएको देख्छु

घढीको सुइ र बिगुलको ध्वनिसंगै ब्युँझेर

चियाको लाइऩमा उभिन्दा

तिम्रो चुराको आवाज सुन्छु

झझल्कोले मुटु दुख्दा मन भित्रभित्रै रून्छु।

धूँवा-धूलो र बारूदमा मृत्युका गन्धहरूमा बसेर

युद्ध-मोर्चाबाट म यो पत्र लेख्दैछु

यद्यपि कर्त्तव्यको वेदीमा पोलिएर

तिमीलाई उज्यालो दिँदैछु।

प्रिय

मृत्युलाई जित्छु भनेर

कसम खाएको मान्छे परेम म-

हुनसक्छ भोलि हार्न पनि सक्छु

समय त्यस्तै प-यो

यसपटक आउऩ सकिनँ

मलाई क्षमा गर।

हामीले रोपेका फूलहरू

सप्तरंगी सपना भएर फुलेका होलान्

त्यसलाई छोराको अनुहारमा हेर्नु

अनि मलाई सम्झेर छात्तीमा टाँस्नु।

पोखरीमा छोडिएका माछाहरूका बच्चाहरू

ठूला-ठूला भए होलान्-

तिनीहरूलाई आफ्नै सम्झेर माया गर्नु

अझ पोखरीलाई तलाउ बनाएर

पौडिनु दिनु।

दशैं गयो-तिहार गयो

ल्होसर र सारा चाड् पर्व गयो

देशभित्रै परेदशी छु म

म नआउने खबरले तिनीहरू सबैसबै विक्षिप्त होलान्

म पति त एंठन परेको छु,

प्रिय।

आफ्नै महत्वकांक्षामा-

केदै भएको मान्छे परें म-

यसपटक यस्तै भयो

तिमीलाई भेट्न आउऩ सकिनँ

मलाई क्षमा गर।

मलाई थाहा छ-घर चुहिने भएको छ,

जब विछोड् वेदना र अभाव नै

चर्किएको छाना भएको छ।

मायाको सिमेन्टले टाल्छु भनेको थिएँ

यसपटक यस्तै प-यो-

आफ्नो लागि नै बाँच्छु भनेर आएँ

थाहा नै नपाई अरूको लागि

बाँच्न बाँच्नु थालेको छु।

आफ्नो सुरक्षा खोज्न म यहां आएँ

थाहै नपाई अरूको सुरक्षामा खटिएँछु

मेरो नआउने खबरले

तिमी बलेंसी भएर रोयौ

हिक्काभरी रोयौ

सिरानीमा घोप्टिएर धेरैबेर रोयौ।

प्रिय-

स्वाधीन भएर पनि

अरूको अधीनमा परेको मान्छे परें म।

विश्वास गर कायर भएर

आफ्नै खुकुरीले नाम काटेर

म आउऩ सकिनँ,

मलाई क्षमा गर।।

 

 

पदचिन्ह

 

-सुधा एम राई

 

अभीप्साका रेतिलो खडेरी

मेरो मूर्छनाको चित्रबस्ती

मौन अनि नि-शब्द

 

आखिर,

तिमी आयौ

अनवरत मरूभूमि पार गर्दै

परन्तु कसैको निम्ति

ह्रदयग्राही

तिम्रो तृष्णाका केही बुँद

ग्रहण गर्न पाऊँ

तिम्रो जीवनका केही थोपाहरू

यो बञ्जर छाती भिजाउन पाऊँ

अनि पाऊँ

मेरो नग्नतालाई ढाक्न

मात्र हत्केलाभरिको वस्त्र.

यद्यपि

म अ़ञ्जान होइऩ

तिमी स्वयम् पनि मरूभूमिमा छौ

मसम्म पुग्नलाई

तिमी सुस्त-सुस्त कदम बढाऊ यतातिर

खडेरीका प्रखरहरू टेक्दै

नजिक

मेरो ह्रदयको नजिक

त्यो जीवजल

क्लान्त तिम्रो उच्छवासबाट अनायसै निचोरिएर

चुहुन्छ जब मेरो शुष्क ओंठमा

बञ्जर छातीमा

केही दबेको नाभि हुँदै

यौनाङ्गसम्म अनि

उर्बर भइदिन्छ रेगिस्तान

अभीप्साका रेतिलो खडेरी

! मेरो मूर्छनाका चित्रबस्ती

यसक्षण मलाई तिम्रो मौनता र नि-शब्दताबाट

उठेर एउटा जवानी बाँच्न् देऊ

-गान्तोक

(सुधा राईले परिचित सुधा एम राईको भर्खरै पदचिन्ह नामक पुस्तकको विमोचन भएको छ।)

विशेष सूचना

-यो स्तम्भ अन्तर्गत इमेलबाट तथा डाकबाट कवि तथा कवयित्रीहरूको कविताको आग्रह गरिन्छ।

 

-सम्पर्क-

सम्पादक, हिमगिरि नेपाली,

हिमगिरि प्रकाशन्,

डाँडा गाउँ, तादोङ,

हुलाकः तादोङ, गान्तोक

पूर्व सिक्किम, भारत

पिनः737102

आत्मव्यथा

 

 -डा. कविता लामा

परदेशी छोरा तिमीलाई सम्झी यो पत्र पठाउँछु

खोलेर पढ् आमाको व्यथा पत्रमा लेखेकी छु

आमा र बाउ रोएको कहाँ गाउँ-घरले जान्दछ

पत्र यो लेख्नुपर्ने नै भयो मनले भन्दछ

छोरा,मनले भन्दछ।

कति पो रूनु दिनरातभरि पीडा यो देख्तैन

कति छ अभाव घरमा तिम्रो बाउले भन्दैन

बाउले केही नभने पनि छोराको माया छ

आशालु आँखा यो बाटोभरि निरन्तर पुगेको छ

छोरा, निरन्तर पुगेको छ।

घर नै रित्तो गाउँ नै शून्य वनपाखा अँध्यारो

हरियाली छैन पहाडभरि जग नै अँध्यारो

हे छोरा तिमी फर्क न फर्क यो घर सम्झेर

म बूढी आमा  कति दिन बाँच्छु यो घर रूङ्गेर

छोरा, यो घर रुङ्गेर

फर्के आऊ न आमाको काखमा यो दुखी भन्दछ

आमा र बाउको एकमात्र

तिमी सन्तान हो भन्दछ

चाहिएन मलाई रूपियाँ र पैसा घरबार छँदैछ

एकसरो खानु लाउऩु छ यहाँ लोभ किन गर्नुछ

छोरा,लोभ किन गर्नुछ।

आँखाको तारा परदेशमा तिमी कसरी बस्तैछौ

सम्झेर ल्याउँछु तिमी झै छोरा कसरी हास्तैछौ

गलेको शरीर थरथर काँप्छ

जीवनको अन्तिम क्षण

चोरा यो हेर्ने इच्छा छ

साह्रै कति पो थाम्नु मन

छोरा कति पो थाम्नु मन।

फर्केर आऊ न हे, मेरो छोरा नून् भात खानेछौं

परिवार साथ भए पो सधैं शान्तिले बाँच्नेछौं

उमेर पाको भएको बाउले तिमीलाई पर्खनेछ

यसचोटि पनि आएनौ भने मन हाम्रो मर्नेछ

छोरा,मन हाम्रो मर्नेछ।

डाँडा र काँडा काटेर गयौ गाउँ-घर नै भुलेर

के सोची गयौ सधैंलाई तिमी मन कहाँ अल्झेर

पोल्दछ छात्ती चोराको यादमा यो पहाड् हेरेर

पढायौ धेरै सपना बोकी दुख नै गरेर

छोरा दुख नै गरेर।

यो बूढी आमा फुलेकी सेतै तिमीलाई सम्झेर

मुटुको ढुङ्गा फ्याँकेर अब आऊ छोरा फर्केर

छोरालाई सम्झी यो पत्र लेख्छु

आशाले बाँचेकी छु

अँगालो फैलाई बाटो म हेर्छु

तिमीलाई पर्खेकी छु

छोरा,तिमीलाई पर्खेकी छु।

हुने बिरूवाको चिल्लो पात डा. महेन्द्र पी लामा

हुने बिरूवाको चिल्लो पात

भारतीय गोर्खाहरूका श्रीपेच

 

नयाँ नेपालको निर्माण

-स्नेहलता राई

हे नेपाल,

हे काठमाण्डौं,

तिमीकहाँ पटक-पटक पुगिरहने

मन भइरहने,

तिम्रो सुरम्य वक्षस्थलमा

लुटुपुटु गरिरहने, मन हुने

तिम्रो विशाल विस्तृत अंगालोमा

थाकै-थाक पहाड्का

ओह्राली, वेंसी घुम्तीहरू

खेतका सुन्दर तरेलीहरूमा

वनका पहरा चट्टानहरूमा

गण्डकी, राप्नी, सप्तकोशी

कर्णाली, महाकाली, त्रिशुली

सल-ल शान्तिको ऊँ कारमा

बहँदैगरेकी तिमी नेपाल,

साउदी अरबलाई 8 लाख 30 हजार

वर्गमाइलमा फैलिएका-फैलावटभरि

एउटै नदीको आशीर्वाद पुगेन

तर तिमी जलकी भण्डारले सजिएकी नेपाल

चितवनको त्यो शान्त परिवेश

त्यहाँका गैडा,हात्ती, बकुला मयूर

हात्तीवनका मृग,जरायो,खरगोस

उत्तिकै उल्लासमा उफ्रदै

निर्भय भ नाचेको नेपाल

अन्नप्रूर्णा,सागरमाथा, धवलागिरी

खुशीका किरणमा स्नान गरी

मदमस्त गौरवान्वित उभिएकी नेपाल

चक्रपथका दायाँ-बाँयामा

हरिया सुन्दर वृक्ष वाटिका

स्वागतम् स्वागतम् समीरका लयमा

हल्लिरहेका, झुम्मिरहेका नेपाल

निलो फेवाताल,हिरो राराताल

मेरिञ्चु ताल अनेकौं हिमताल

पर्यटकहरूलाई आह्रान गर्ने छाल

बन्दै गहिरिँदै गएको नेपाल

पशुपति र पुरातन मन्दिर-मन्दिरमा

शान्तिको सुमधुर घण्टी गुंजिरहने

पवित्र धर्मशास्थल नेपाल

तिमीले लोकतन्त्रको कुराइमा

जनक्रान्तिको आन्दोलनमा

असाध्यै असाध्यै मर्माहत बन्नुप-यो नि,

आफ्नो दुख्दो छात्तीमा

दर्दका दग्ध स्थान धेरै पुर्न प-यो,

अब नयाँ नेपालको निर्माणको

शंखनाद सुन्दैछौं

मेचीवारिबाट हामी पनि

यो शंखनाद सुनेर, ह्लादित बन्दैछौं

यसैले प्यारो नेपाल

शुभेच्छा छ तिमीलाई

आउने दिन हिज जस्तो नहोस्

साँच्चिकै नयाँ नेपाल बनोस्

शान्तिको प्रचण्ड घाम झुल्कोस्

अनाचार, व्यभिचाररहित समृद्ध देश बनोस्

नयाँ आयामले अँगालोस्

यस नयाँ नेपालमा, कुनै पनि नारीले

सीताझै निर्वासित हुन नपरोस्

वीर पाण्डव जन्माउऩे जननीझैं

वनबासको शताब्दी टेक्न नपरोस्

नयाँ नेपालको निर्माणमा

एक टुक्रा मुटुमा मात्र होइऩ

सिङ्गो मुलुकमा शान्ति छावस्

             -माउन्ट हर्मन दार्जीलिङ

हुने बिरूवाको चिल्लो पात

डा. महेन्द्र पी लामा

-स्नेहलता राई

हुने बिरूवाको चिल्लो पात

भारतीय गोर्खाहरूका श्रीपेच

डा. महेन्द्र पी लामा.

म यस्तै सम्झन्छु

जब सिंहमारी तेस्रोमा भानुग्रामको

त्यो प्राथमिक पाठशालालाई देख्छु

उऩको विद्याको प्रथम घडेरी

म जस्तै शिक्षक-शिक्षिकाको काखमा

हाम्रो जस्तै चारकोठे प्राथमिक पाठशालामा

श्रीगणेश भएथ्यो

विद्याका क,, ग र 1, 2, 3, अंकहरूमा

हुने बिरूवा जहीं पनि...

उम्रन सक्दो रहेछ

उम्रेर कम उमेरमा नै पनि

लट्टरम्मै उपलब्धिका फलहरू

 दिन सक्दो रहेछ समाजलाई

अभिभावकला पनि मेरो आह्रान

यी हाम्रा गौरव डा. महेन्द्र पी. लामालाई

चाहिएन दामी, महंगो अंग्रेजी नर्सरी

यही माटो र धूलोमा लड्बडी गरी

उनले बटुले अमूल्य ज्ञानका खानी

उनी बने साहित्य र अर्थशास्त्रका

द्यमी प्रखर ज्ञाता

जवाहरलाल नेहरू विश्वविद्यालयका

दक्षिण एशियाई अर्थशास्त्रका नामी ब्याख्याता

हामी भारतीय गोर्खेहरूका पहिचान

र साँचो शुभचिन्तक

सम्पूर्ण भारत देशकै निम्ति

अनेकौ जटिल विषयहरू र मञ्चहरूका

 प्रतिनिधित्व गर्ने एक सुयोग्य व्यक्ति

उनी भर्खरै सीन हुऩ पुगे

सिक्किमका प्रथम केन्द्रिय विश्वविद्यालयका

प्रथम नेपाली समुदायका

प्रथम भाइस चान्सलर भएर

हामी गौरव गर्छौ उनीप्रति

दार्जीलिङको आमाको कोखले

यस्ता विद्वान सपुत जन्माए

धन्य हुन् ती जननी

जसले दशधारा दूधमा

महेन्द्र पी लामाले

माता सरस्वतीको पञ्चामृत पिएछ

जसको उच्च आकांक्षा

आफ्नो जातिको उन्नति प्रगति

 जसको जीवनको लालसा

आफ्नो जातिलाई कुम्भकरणको नींदबाट

बिउँझ्याउने हराएका चेहरा फर्काई ल्याउने

कति महन विचारका धनी उनी

अहिलेका अस्वस्थ दार्जीलिङको प्रसुति गृहमा

तिमी जस्तै स्वास्थ सपुतको जन्मको -डा.महेन्द्र पी. लामा

शुभ आवगमनलाई

ह्रदयबाटै भव्य स्वागत

यसैले म जस्तो क, ख ग पढाउने शिक्षिकाहरूका

मनाकाशबाट,

म जस्तै दार्जीलिङका आमाहरूका

ह्रदयको तहैबाट

बधाईका सहस्रौं फुलवर्षा